दैबलाई नि नछोड्ने यो कस्तो दैबी प्रकोप?

 

अतिथि पोष्ट: सुशील ताम्राकार  

विनाशकारी महा भूकम्पले खण्डहर बनाएको मेरो देश, सहर अनि टोल वस्तीबारे आज धेरै दिन पछी मात्र केही शब्द कोर्ने हिम्मत जुटाएको छु | देशको माटो बाटो कांपीरहंदा की-बोर्ड माथि हातका औम्ला पनि काँपिदो रहेछ | देश दुख्दा परदेशीको मन पनि त्यतिकै दुख्छ, त्यतिकै छटपटाहट हुन्छ| परदेशी नेपाली मनहरु अझ अनिदोमा आफन्त खोज्छ| जिन्दगीको सारा हिस्सा र किस्सा काष्ठामंड़प वरिपरि बित्यो | हनुमान ढोका, वसन्तपुर, मरु , चिकं मुगल, भीमसेन स्थानका हरेक गल्ली बाटाहरुमा मेरा लाखौँ डोबहरू छन् , अहिले भग्नावशेषहरुमा थिचिएका छन् , पुरिएका छन् | त्यसैले पनि हजारौं माइल पर पनि दुखिरहेको छु |

सानो छंदा मरु डबलीमा बसेर दिन भरि गाडी गुडेको हिसाब छेउमा राखिएका मत्तितेलका ड्रमहरुमा धर्सा कोरेर जतनका साथ् राख्थ्यौं | हिसाबको पहिलो पाठशाला थियो त्यो | काष्ठमण्डप जसलाई मरु सत: ( सत्तल , पाटी ) भनिन्छ, जो एउटा बिशेत नामक रुख रुपी राक्षसको काठबाट बनेको बिशाल मन्दिरको कुनै नामो निशान रहेन | किंबदन्ती सुनेर उहिले जिब्रो टोक्थ्यों अहिले माटोको ढिस्कोमा बिशेतका अवशेषहरु खोजीरहेछु |

सानोमा आमाले मरमसला किन्न पठाउँदा केही क्षण भए नि त्यै सत्तलमा ह्वाग्रा खेलिराखेका दौतारीहरु संग भलाकुसारी गर्थ्येम| कहिले एकै छिन गाब: दोब: खेलेरै मात्र घर जान्थें ( ह्वाग्रा र गाब: दोब – गुच्चा खेल बिशेष ) | गोरखनाथको मुर्ति अघिल्तिर झुन्ड्याईएको घण्टा सकिनसकी उफ्री उफ्री बजाउँथेम| अकस्मात झरी पर्दा धेरैअन्जान बटुवाको लागि ओत लाग्ने छत थियो त्यो |

त्यो भन्दा नि काष्ठमण्डप, त्यै वरिपरि बस्ने ताम्राकार, बज्राचार्य, मानन्धर अनि किसानहरुको आदिम वस्ती भएको जीवन्त प्रमाण थियो | घ्यो चाकु सल्हूँ अर्थात माघे संक्रान्तिमा काष्ठमण्डपको बिशेष पूजागरी गजुरमा नयाँ ध्वाँये (ध्वजा) फहराउने चलनको निरन्तरता कसरी दिने अब ? पुजा गर्ने पुजारीलाई एक चुनांचा ( त्यतिबेलाको न्यूनतम मुद्रा इकाई, एक पैसाको १/४ खण्ड ) अनि ध्वजा फहराउने ज्यापु दाईलाई २० मुरी धान कसले दिन्छ अब ? मन्दिर रहेन, हाम्रो पुर्खाको धरोहर धरहरा संगै खण्डहर भएको छ |

काष्ठमण्डप छेवैको हजाम देग : ( सस्तो दरमा कपाल काट्ने नाइँहरु बस्ने मन्दिर ) पनि बाँकी रहेन | निम्न आय भएका मजदूर किसानहरूको सेवा गर्ने थलो पनि गयो | माजु देग:, दश अबतार देग लागायत धेरै विश्व सम्पदा सूचीमा रहेका मन्दिरहरु जग मात्र शेष रह्यो | यस्तो लाग्छ, मेरो वस्ती वरिपरी मान्छे भन्दा बढी देबी देवता पुरिए | दैबलाई नि न छोड्ने यस्तो दैबी प्रकोप ? पुरिएका मान्छेहरु धेरैलाई जिउंदै निकाले, केहीको लाश निस्कियो | मलाइ बचाउ, म पुरिएँ भन्न पनि नसक्ने वा भनेको भए नि यो प्रकोपको कोलाहलमा नसुनिएका देबी देवताहरु अझै “रेस्क्यु”को आशमा बसेका छन् |

म सम्झिन्छु, एक पल्ट २०३१ सालमा राजा बीरेन्द्रको राज्यभिषेकमा सजिएको हनुमान ढोका प्रांगण र मन्दिरहरु | चिटिक्क बेहुली झैँ शृंगारमा सजिसजाउ भएका ती मन्दिरहरुले साँच्चै नै देबभूमि जस्तो लाग्थ्यो | दोस्रो पल्ट २०४२ फागुण तिर बेलायतकी महारानी एलिजाबेथको भ्रमणमा काठमाडौ सहरको साँचो चढाई स्वागतको गरेको इतिहास बोकेको त्यो मरु सत: त्यसपछि हजारौं रकत्दान शिबिरको भरपर्दो आश्रयस्थल थियो | दुर्भाग्यबस बैसाख १२ गते १२ बजे पनि रक्तदान शिबिर थियो | गर्लाम्यै ढलेको मन्दिरले अरुको जीवन जोगाउछु भनेर शुद्ध मनले रक्तदान गर्न आएका रक्तदाता एवं रक्त संकलन गर्न आएका निष्कलंक स्वयम् सेवीहरुले जीवनगुमाएको खबर अझ कहाली लाग्दोछ |

भाग्नाबशेष पन्छाइदै छ | पुरिएका चार बिनायक (गणेश) र गोरखनाथलाई सकुशल राखिएला | पुनर्निमार्णको पाइला चालिएला | फेरी जस्ताको तस्तै मन्दिर बनिएला | तर मा कहाँ खोज्न जाउँ बिशेत राक्षस? त्यसको शरीरको बडेमानको पुरानै काठको खम्बा ? इँटा इँटामा खोपिएका हजार स्मृतिहरू आउने बर्षाले बगाई सक्ने छ | कहाँ खोज्न जाउँ मेरो बाल्यकालको ती अमुल्य क्षणहरु ?

भाद्र महिनाको चतुर्दशीको दिन मनाइने पंचदान पर्ब ( बुबाको मुख हेर्ने दिनको दुइ दिन अगाडी, बौद्धमार्गीहरुले बौद्ध गुरुजु { बज्राचार्य र शाक्य समुदाय}लाई दान दक्षिणा दिने पबित्र दिन ) दिनमा त्यै मन्दिरको दक्षिण चोकमा लामा लामा चार वटा काठको चारकुने मण्डप बनाई, पूजा अर्चना गरी दिनभरी फू बारे नआउन्जेल ( अन्तिममा पाल्नु हुने शाक्य बज्राचार्य) आएका जति शाक्य बज्राच्रार्य गुरुजुहरुलाई दान दक्षिणा दिने परम्परा ताम्राकार समुदायले काष्ठमण्डप बने देखि नै चलाउँदै आएको प्रमाणिक इतिहास छ | सम्भवत त त्यही चारवटा काठको मण्डप नै काष्ठमण्डप हो र कालन्तरमा त्यो सत: नाम नै काष्ठमण्डप रहन गएको हो | यसपालीको पन्चदानमा दान दिन भीमकाय खासी (भाँडो)मा चुलो कहाँ बाल्छ होला ? त्यो ६ सय बर्ष भन्दा पुरानो काठ अझै बाँकी छ वा खण्डहरमा मिसिए ? मन भित्र यस्ता धेरै प्रश्नहरु छन् | चिन्ता मेरो घर चर्किएको र भत्काउनु पर्ने अवस्थामा रहेको भन्दा नि मेरो अस्तित्वको छ , मेरो जीवनको हरेक हिस्सा संग गाँसिएको किस्साको छ | हे दैब, दैबलाई नि न छोड्ने यो कस्तो दैबी प्रकोप ??

अस्तु!!

Please share your thoughts in the Comment Box below.